वीरगञ्जमा शुरु भयो स्वर्णिम चलचित्र महोत्सव (फाेटाे फिचर)

Big Banner News फोटो फिचर मनोरञ्जन

काठमाडौं । ‘तराई पहाड हिमालको उत्सव’ नारा सहित ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजबाट वीरगन्जमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच उद्घाटन गरेको महोत्सव कार्तिक २३ अर्थात दिनसम्म चल्नेछ ।

कार्यक्रममा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा लगायत दर्जन बढी नेपाली कलाकारहरूकाे  उपस्थिति रहेको थियो । महोत्सवका लागि नेपाल आएका बलिउड नायक गोविन्दा पनि वीरगञ्ज पुगेका छन्।तराई–मधेसका कथा र कलाकारलाई पनि नेपाली चलचित्रमा समेटिनुपर्ने भन्ने मुख्य उद्देश्यका साथ सुरु भएको महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुतिसमेत दिने भएका छन्।

उद्घाटन अघि निकालिएको र्‍यालीमा नेतादेखि कलाकारसम्मको उपस्थिति थियो । प्रभातफेरिमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रदेश सांसद जन्नत अन्सारी, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सहभागी थिए। त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराई, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, राष्ट्रिय कलाकार सरोज खड्का, धिरेन शाक्य, नरेन्द्र श्रेष्ठ, सन्जु अमात्य, रबि बस्नेत, नन्दु श्रीवास्तव, सुनिल पण्डित, खैरुदिन अन्सारी लगायत स्थानीय कलाकारहरुसहित विभिन्न स्कुलका विद्यार्थीहरुको र्‍यालीमा सहभागिता थियो । नेपाली चलचित्रलाई समयानुकुल, मौलिक रुपमा प्रस्तुत गर्न महोत्सव फलदायी हुने महोत्सव संयोजक नन्दु श्रीवास्तवले बताए।

महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा अहुजासँगै उनकी श्रीमति सुनिता अहुजा तीन दिन अगाडी आएका छन् । गोविन्दाले प्रस्तुति पनि दिनेछन् । उनीहरुका साथै निर शाह, भुवन केसी, दिपा श्री निरौला, दिपक राज गिरी, निरुता सिंह, झरना थापा, सरोज खनाल, बसुन्धरा भुषाल, भुवन चन्द, वर्षा राउत, साम्रज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, छुल्ठीम गुरुङ, निकिता चण्डक, प्रशान्त ताम्रकार लगायत कलाकार सहभागी रहेका छन् ।

महोत्सवका लागि वीरगञ्ज उद्योग वाणिज्य संघको साझेदारी र सहयोग रहेको आयोजकले जनाएको छ। त्यस्तै, महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ। प्रदेश सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख र प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले पनि केही रकम सहयोग गरेको आयोजकले जानकारी दिएको छ।  महोत्सव कात्तिक २१, २२ र २३ गतेसम्म चल्नेछ ।