यही हिउँदभित्र प्रदेशको राजधानी टुंगो लगाउँछौं: मन्त्री ढुंगेल

अन्तर्वार्ता अर्थ प्रदेश ३

प्रदेश– ३ का अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलसँगको अन्तर्वार्ता

० प्रदेश नं. ३ भित्रको योजना निर्माण र आर्थिक परिचालनको अवस्था के–कस्तो पाउनुभएको छ ?

हामी आएपछि दोस्रो बजेट पनि जारी ग¥यौं । संसद्ले पारित गरेर करिब ४८ अर्बको योजना बनाई यो चालु वर्षलाई बजेट विनियोजन गरेका छौं । खासगरी कृषि, पर्यटन र पूर्वाधार निर्माणमा नै हामीले योजनाहरू केन्द्रित गरेका छौं । प्रदेश नं. ३ लाई नयाँपन दिन हामीले केही नयाँ विशेषता ल्याएका छौं । भन्न त मान्छेहरूले गौरवका योजना पनि भन्ने गर्छन् तर हामीले गौरव भने पनि नभने पनि एउटा केही न केही ‘सिग्नेचर प्रोगाम’हरू दिऔं भन्ने ध्येयले हामी अघि बढेका छौं ।

० के–के छ त त्यस्तो योजना ?

हामी प्रदेश विश्वविद्यालय सुरु गर्न खोज्दै छौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर मेडिकल कलेजका रूपमा लैजाँदै छौं । प्रदेश नं. ३ पुष्पलाल चक्रपथ हामीले सुरु गरिसकेका छौं । विद्युतीय सवारीसाधनको सुरुवात गरेका छौं । यसका साथै मासु र दूधमा आत्मनिर्भरको अवस्थामा पुगेका छौं । प्रदेश नं. ३ लाई नमुना प्रदेशका रूपमा बनाउन पर्यटन भ्रमण वर्ष पूरा गर्दै छौं । त्यसो भएको हुनाले प्रदेश नं. ३ को बजेट र कार्यक्रमको राम्रैसँग योजना पनि भएको छ र कार्यान्वयन पनि द्रुत गतिका साथ अघि बढिरहेको छ ।

० अहिले प्रदेश र केन्द्र सरकारबीच कतिपय ठाउँमा काम गराईमा तालमेल र समन्वय नभएको गुनासो छ, कत्तिको सहज छ काम गर्न ?

हाम्रोमा कसैको असहयोग छैन । नयाँ प्रयोगमा आएको हुनाले मान्छेहरूलाई त्यस्तो लागेको हुन सक्छ । संघीयताको अभ्यास नै हाम्रा लागि पहिलोपटक हो । मूल रूपमा हामी यही देशमा बस्छौं । नेपालको समृद्धि भयो भने मेरो पालिकाको समृद्धि हुन्छ, मेरो प्रदेशको समृद्धि पनि हुन्छ र मेरो राष्ट्रकै समृृद्धि हुन्छ भने कुरा सोच्ने हो भने त्यस्तो केही देखिँदैन ।
संघीयतामा गइसकेपछि पहिलो कर्तव्य कानुन निर्माणको रहेछ । कानुन निर्माणम हामीलाई केन्द्रले सहजीकरण गरेको थियो, अन्य सहयोग र समन्वय पनि गरेकै छ । एकल सूची भएका ठाउँमा हामीले गरिरहेकै छौं भने तिनै तह जम्मा भएर गर्नुपर्ने स्थानमा समन्वय भइरहेको छ । हाम्रो देशको संघीयता स्थानीय, प्रदेश र केन्द्रबीच एकअर्काको परिपूरक र समन्वयसहितको संघीयता हो । सोही रूपमा चल्ने भएकाले यसलाई समन्वयकारी संघीय व्यवस्था भन्न पनि सकिन्छ । हाम्रो अनुभवका हिसाबले नयाँ भएकाले कानुन निर्माण गर्नुपर्ने भएको हुनाले एकले अर्कोलाई असहयोग गरेको हो की भन्ने हुन सक्छ । तर, त्यस्तो मलाई अनुभव छैन ।

० एकाथरीले प्रदेश खर्चिलो भयो, संघीयता नै नेपालका लागि बोझिलो भयो, प्रदेश संरचनाहरू टिक्न गाह्रो छ भन्ने कुरा गरिरहेका छन् नि ?

खर्च त स्वाभाविक रूपमा पहिलेभन्दा बढी देखिन्छ, ठिकै हो । खर्च हुँदा सँगै आम्दानीको पनि जोहो गर्नुपर्ने हुन्छ । आम्दानीको जोहो ग¥यो भने खर्च धान्न सकिन्छ, आम्दानी नगर्ने, खर्च मात्र गर्ने हो भने त्यो टाट नै पल्टिन्छ । त्यसो भएकाले हामीले यो चिज बेहोरेरै, हुन्छ भनेरै, जानेरै आएका हौं । अब अभ्यासमा गइसकेपछि भोलि भविष्यमा के हुन्छ भन्ने कुरा अहिल्यै भन्न सकिएन । तर, संविधानतः यो सरकारलाई, यो संविधानलाई कार्यान्वयन गर्ने कुरा हो । खर्चको सवालमा हामी खर्चिलोसँग पनि भ्याउन सक्छौं आम्दानी गर्न सक्छौं भनेर आएका छौं ।

० बहुप्रतीक्षित काठमाडौं हेटौं सुरुङमार्ग एउटा निजी कम्पनीले ओगटेर राख्यो, अब के हुन्छ ?

निजी कम्पनीले ओगटेर राख्यो, बनाउन सकेन । त्यो अध्याय अब सकियो । अब हामी आफैंले गर्दै छौं । यही आर्थिक वर्षबाटै प्रक्रिया सुरु हुन्छ । पहिले गर्ने भनिएको कम्पनीले अब गर्दैन । हामीले दुई वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्छौं ।

० लगानीको सवालमा नि ?

अहिले हामी आफैंले गर्छौं भनेर सुरु गर्ने सोच छ । स्रोतको अपर्याप्तता भयो भने अन्य विकल्प पनि खोज्न सक्छौं ।

० अधिकांश स्थानीय सरकारहरू पनि नेकपाकै नेतृत्वमा छन्, तैपनि चुनावी घोषणा पत्र र जनताको अपेक्षा अनुसार सरकारको कामले लय पक्रिन सकेन भन्ने गुनासो छ नि ?

त्यस्तो होइन । हेराइमा भर पर्छ । मान्छेहरूले लय पक्रिएको हे¥यो भन्यो पक्रिएको देखिन्छ, नपक्रिएको नजरले मान्छेले हे¥यो भने नपक्रिएको देखिन्छ । म मन्त्री भएको दुई वर्ष पुग्न बाँकी नै छ । दुई वर्षभित्रै सबै चिज खोइ त भन्ने प्रश्न गरियो भने त म असफल नै हुँला । तर, यसले बनाएको योजना, कार्यक्रमलाई अलिकति समय लिएर अध्ययन गर्ने हो भने पर्याप्त काम सुरु भएको देखिन्छ ।

० जस्तो ?

प्रदेश नं. ३ प्रदेशभित्र १३ वटा जिल्ला छन् । आजभन्दा अगाडि उपत्यकाभित्र त म धेरै जान्दिनँ, बाहिरचाहिँ किसानका हितका लागि चिस्यान सेन्टर थिएन । त्यो बनाउँदै छौं । हरेक जिल्लामा रंगशाला थिएन, बनाउँदै छौं । हरेक पालिकासम्म त्यसलाई विस्तार गर्दै छौं । हरेक गाउँमा स्थानमा भएका कलेजहरूलाई सपोर्ट गर्दै छौं । यो वर्ष प्रदेशभरिको विद्युतीकरण सक्दै छौं । यातायातका पारवहन, बसहरू अब बिजुलीमा जानुपर्छ भनेर पहिले प्रस्ताव ल्याउने नै प्रदेश नं. ३ सरकार हो । जुन जिल्लामा जुन कृषिका लागि सुहाउने हावा, पानी र माटो छ, त्यहीअनुसारका बाली ल्याउने भनेर योजना ल्याउँदै छ । अहिले नै होला सायद नेपालमा प्रदेश नं. ३ मा गाई, भैंसी बिरामी भयो भने एम्बुलेन्समा हालेर ल्याउने बनाइरहेका छौं । पशुको एम्बुलेन्स सुरु भएको छ । अहिले चितवनको गाई बिरामी भयो भने एम्बुलेन्स गएर बिरामी गाईलाई अस्पताल ल्याउँछ ।

० यसभन्दा अगाडि यस्तो भएको थिएन र ? यो त नियमित नै काम हो नि !

कसरी नियमित हुन्छ, हिजो यस्तो थिएन । हामीले अहिले सुरु गरेका हौं । मेरो जिल्लामा मैले नुन बोकेको हुँ । म जिविस सभापति भएपछि मोटर छि¥यो । म आफैंले मन्थलीबाट खुर्कोट जाने बाटोको पहल गरें । पिच भयो । बहुदल आउँदा कक्षा ७ सम्म पढाइ हुन्थ्यो अहिले एमएको जाँच पनि हुन्छ । कसरी नियमित मान्ने ? मेरो जिल्लामा प्याराफिटसहितको स्टेडियम हिजो सुरु भएर अहिले नियमित गरिएको होइन, क्रमभंग नै भएको हो । हिजो कभर्ड हल थिए, पुष्पलाल चक्रपथ थिएन, अहिले बन्दै छ । चितवनमा पानी जहाज सुरु भएको छ, प्रदेश सरकारले सहयोग गरेको छ । हिजो नभएकै कुराहरू पनि अहिले भएका छन् ।

० पछिल्लोपटक पार्टीका नियुक्तिहरू एकपक्षीय ढंगले गरियो भन्ने असन्तुष्टि छ नि ?

अहिलेको नियुक्ति त कांग्रेसलाई, राप्रपालाई त गर्दैनन् नि त ।

० तर गुटगत आधार हेरियो भन्छन् ?

त्यस्तो त मैले जान्ने कुरा भएन । हिजोअस्ति मात्रै प्रदेश प्रमुखको नियुक्ति भयो बैठकबाटै ।

० त्यसैमा पुरै एकपक्षीय भयो भन्ने छ ?

व्यक्तिगत जिम्मेवारी भयो तर सबै नेता बसेर गरेपछि त्यो निर्णय सामूहिक निर्णय नै भयो । बैठक नराखीकन गरेको भए त्यसो भन्न मिल्थ्यो, बैठक राखेर गरेपछि त सहमति भए पनि, असहमति भए पनि निर्णय भइहाल्यो नि !

० अन्य नेताहरूले जस्तै तपाईंले पनि अधिकांश बजेट आफ्नो गृहजिल्ला रामेछापमा हाल्नुभएको छ भन्ने आरोप छ नि ?

छ, रामेछापको मन्थली नगरपालिकामा भन्दा काठमाडौंको नगरहरूमा धेरै बजेट छ, मैले के गर्नु त ? जो पिछडिएको छ, त्यसलाई अगाडि बढाउने भन्यौं हामी सबैले । रामेछाप बसेर विश्वविद्यालयको पढाइ सकिने बेलासम्म मैले रोशी खोलाको बाटोमा चप्पल लगाएर क्याम्पस ओहोरदोहोर गरें । अहिले पनि मैले त्यही गर्ने हो भने अर्कोपटकको मेरो निर्वाचनमा मान्छे नै हुँदैनन् । किनकि, मेडिकल सहरमा, कलेज सहरमा हुने अनि त्यहाँचाहिँ को हुने त ? जनता सकिँदैनन् ? त्यसैले, त्यहाँ पनि मान्छे बसून् भनेर बाटो, कलेज सबै कुरा चाहियो । संघीयता यसैका लागि ल्याइएको हो । त्यहाँ बजेट नहालेर के काठमाडौंको न्युरोडमा हाल्ने त ? सिन्धुपाल्चोक, रसुवा रामेछाप अलि पछि परेको छ, तिनलाई अलि माथि उठाउनुपर्छ । वर्षको एकपटक पुष्पलालको सालिकमा माला लगाउन गएर मात्र हुँदैन ।

० प्रदेशको राजधानी र नाम अझै किन टुंगो लगाउन नसक्नुभएको नि ?

यो विषय पनि अबको हिउँदभन्दा उता जाँदैन । यही हिउँदमा टुंग्याउँछौं ।

० राजधानी कहाँ राख्नुहुन्छ त ?

त्यो सांसदहरूको संवैधानिक हकको कुरा हो । उहाँहरूले र विधि प्रक्रियाले जे भन्छ, त्यहीअनुसार हुन्छ ।

० मुख्यमन्त्रीज्यूले त हेटौंडाबाट कुनै हालतमा सर्दैन भन्नुभएको छ नि ?

ठीक छ, उहाँले सर्दैन भने पनि उहाँको कुरा हो । तर, सर्दैन पनि होला । सर्छ पनि होला । सांसदहरूले गर्नुपर्ने भूमिकाको अधिकारलाई मैले यसो हुनुपर्छ भन्नु जाती हुँदैन ।

० तर सांसदहरू त ताली मात्र बजाउने हुन्, मुख्य नेताहरूले तय गर्ने भन्ने छ नि ?

त्यो विषयबारे त्यतिबेलै प्रश्नोत्तर गरौंला नि त, के छ र ?

० नामचाहिँ के राख्नुहुन्छ ?

प्रस्ताव त कसैले बाग्मती, कसैले नेवा–ताम्सालिङ, कसैले शैलुङ, कसैले गौरीशंकर राखेका छन् । त्यो पनि उहाँहरूले जसलाई तोक्नुहुन्छ, त्यही हुन्छ । आग्रह–पूर्वाग्रहले हुँदैन ।

० भनेपछि कामले गति लिएको छ भन्ने तपाईंको धारणा ?

त्यो त हेर्दा नै थाहा भइहाल्छ नि । हामीले जानेजति, बुझेजति, साधनस्रोत भएजति के गर्दा कामले गति लिन्छ भन्ने सवालमा आ–आफ्नो बुझाइ होला । केही भएको छ भन्ने मान्छेहरू पनि प्रशस्त छन् । सबैभन्दा पहिले जनताले पाउने सेवा, सुविधा र वैभव भनेको पूर्वाधार नै रहेछ । बिजुली, बाटो, यातायात, विमानस्थललगायत पूर्वाधार नहुने हो भने विकास नै हुँदैन रहेछ ।