ईटाभट्टामा जिउदै मान्छे जलाउने पूर्वमन्त्री आलम जेल चलान

राजनीति

काठमाडौं । रौतहट जिल्ला अदालतले ईटाभट्टामा मान्छे मारेको अभियोग लागेका काँग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा पठाउँन आदेश दिएको छ । थुनछेक बहस सकिएपछि ४ नम्बर इजलासका न्यायाधीश दीपक ढकालले यस्तो आदेश दिनु भएको हो ।

विगत ८ दिन देखि जारी आलमविरुद्धको थुनछेक बहस आज सकिएको हो । वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले बहस गर्नु भएको थियो । आलमलाई अभियोगपत्रसहित अदालत पेश गरेदेखि नै गौरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

२०६४ साल चैत २७ गते पहिलो संविधानसभाको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै सर्वोचको आदेशमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा जलाएको दावी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। घटनामा त्रिलोकप्रताप सिंह पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जलाएर मारेको प्रहरीको दाबी छ । २७ चैत २०६४ मा भएको उक्त घटनामा संलग्न भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्षपछि अदालतमा अभियोग पत्र दायर गरेको हो ।