दिवेशले अमेरिकन आइडलमा गीत गाउँदा ‘जज’का आँखा रसायो

अन्तर्राष्ट्रिय मनोरञ्जन समाचार

काठमाडौं । अमेरिकन आइडलमा सहभागिता जनाएर चर्चा कमाइरहेका नेपाली मूलका गायक दिवेश पोखरेल ‘आर्थर गन’ ले गीत गाउँदा निर्णायकका आँखा रसाएका छन् ।

सोमवार प्रसारण गरिएको रियालिटी शो ‘अमेरिकन आइडल’ मा दिवेशले गीत गाउँदा जजहरुले उठेर सम्मान दिएका थिए । उत्कृष्ट २० मा परेपछि एकाएक चर्चामा आएका दिवेशले गीत गाउँदा यसअघि जजले चर्चित गायक बब मार्लीसँग तुलना गरेका थिए ।

दिवेशले सोमवार क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन’ गाएका थिए । यो गीत गाएपछि उनलाई तीनैजना निर्णायकहरुले उभिएर सम्मान व्यक्त गरेका थिए ।

निर्णायकमध्येका एक लियोनल रिचेले भावुक भएर आँसु पुछ्दै भने, ‘मलाई भावुक बनायो ।’

दिवेशले केही नेपाली गीत गाएका थिए । ती गीत अहिले दर्शकले खोजीखोजी हेर्न थालेका छन् । २१ वर्षीय दिवेश काठमाडौंमा जन्मिएका हुन् । दिवेश ५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।