राजस्‍व नउठ्दा दैनिक खर्च चलाउनै समस्या : अर्थमन्त्री

अर्थ समाचार

अर्थमन्त्री डा युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको जानकारी गराउनु भएको छ ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले अहिलेको अवस्थामा सरकारलाई अनिवार्य दायित्व धान्नका लागि रुपैयाँको समस्या परिरहेको जानकारी गराउनु भएको हो । अहिले सरकारले मासिक ४० अर्ब सरकारले जसरी पनि नगदमा भुक्तानी गर्नुपर्ने भएकोले केही समस्या भइरहेको उहाँले बताउनुभयो । अहिले भन्सारबाट महिनामा १५ अर्ब जति राजश्व उठिरहेकोले ४० अर्बको दायित्व पुरा गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो । उक्त दायीत्व पुरा गर्न खासै प्रयोगमा नरहेका सरकारी कोष परिचालन गरेर व्यवस्थापन गरिने उहाँले बताउनु भयो । ००००