बालुवाटारमा नेकपाको बैठक शुरु, ओली अनुपस्थित

Big Banner News राजनीति समाचार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्।

प्रधानमन्त्री ओलीले आज बोलाइएको स्थायी कमिटी बैठक एकतर्फी निर्णय लिएर स्थगित गरेका थिए। तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक नरोक्ने निर्णय लिएको छ।

ओलीले बैठक स्थगित गर्ने निर्णय गरेपनि दाहाल–समूहका नेताहरु बालुवाटार पुगिसकेका थिए। “अहिले बैठक शुरु हुँदैछ”, स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले भने।

स्रोतका अनुसार, बैठकमा नियमित अजेण्डामा छलफल हुने भएकाे छ। यसअगाडि बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेको थियो। प्रधानमन्त्री ओलीनिकट एक नेताले भने स्थायी कमिटी बैठक स्थगित भइसकेको र दाहाल–नेपाल समूहको मात्र बैठक बसेको बताए।