सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ

अर्थ समाचार

काठमाडौं । सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ ।

विहीवार तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य अहिलेसम्मकै महंगो हो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । चाँदीको मूल्य भने आज स्थिर छ ।

चाँदी विहीवार पनि तोलाको १२ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि तथा सोही कारण नेपाली बजारमा मागसमेत खस्किएकाले बैंकहरूले आयात गरेको ३ सय २१ केजी सुन बिक्री हुन सकेको छैन ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ ।

अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपैयाँबराबरको सुन स्टक रहेको हो ।