सरकारको निर्देशनः विद्यालय सञ्चालन हुन्छ, क्वारेन्टाइन र आइसोलेसन खाली गर्नू

Big Banner News समाचार

काठमाण्डु – सरकारले कोरोना भाइरसको महामारीकाबीच विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने र विद्यालयलाई क्वारेन्टाइन स्थल नबनाउने निर्णय गरेको हो ।

‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन । साथै क्वारेन्टाइन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्छ’, सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने ।

त्यस्तै सरकारले विद्यालयले २०७६/७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएको छ । त्यस्तै सरकारले भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने निर्णयसमेत गरेको छ ।

विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ । त्यस्तै सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् बैठकले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको छ । सरकारले खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको लागि उक्त अनुमति प्रदान गरेको हो ।